काठमाडौं प्रवेश गर्ने सबै नाका ठप्प, तत्काल खुल्ने छाँट छैन

 राजधानी काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सबै नाकाका सडकहरु बिग्रिँदा आवत जावत ठप्प बनेको छ । आज तेस्रो दिन पनि काठमाडौं उपत्यकाबाट गाडीहरु बाहिरिएका छैनन् भने भित्रिने क्रममा रहेका गाडीहरु पनि बीचबाटोमै अलपत्र पर्दा यात्रुहरुको बिचल्ली बनेको छ ।

पृथ्वी राजमार्ग हुँदै काठमाडौंको नागढुंगा नाका प्रवेश गर्ने सडकको अवस्था सबैभन्दा खराब छ । नागढुंगाबाट नजिकै रहेको धादिङको झ्याप्ले खोलानेर ठूलो पहिरो झर्दा केही गाडीहरु पुरिएका छन् । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँबाट हिजो १४ र आज बिहान तीन जनाको शव फेला परेको छ । बस र माइक्रोबसमा पुरिएको अवस्थामा ती शव फेला परेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले धादिङ र काठमाडौं दुवैतिरबाट नागढुंगाको पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए । ‘झ्याप्ले खोलामा ठूला–साना ३र४ वटा गाडीहरु पुरिएका छन्, थुप्रै गाडीहरुमा क्षति पुगेको छ,’ प्रवक्ता खड्काले भने, ‘पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा आज मध्याह्नसम्म लाग्छ ।’

ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट पूर्वतिर र दक्षिणतिर जाने सडकमा पनि पहिरोले क्षति पुगेकाले सवारी आउजाउ ठप्प भएको छ । पूर्वतिर जाने बीपी राजमार्गको ठाउँठाउँमा सडक भाँसिएको छ भने केही ठाउँमा रोशी खोलाले सडक बगाएको छ । बाटो बगेकाले पूर्वबाट आएका सबै सवारीसाधन नेपालथोकमै रोकिएका छन् । रोशी खोला बाटोबाटै बगेकाले निर्माणका लागि केही समय लाग्ने देखिन्छ । त्यस्तै काभ्रेको नार्केमा पनि रोशी खोलाले सडक कटान गरेको छ ।

बिपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेको तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा यथाशीघ्र बाटो खोलिने सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । भत्किएको सडक र पुल मर्मत गरी यथाशीघ्र यातायातका साधन सञ्चालनका लागि संघ र प्रदेश सरकारसँग बजेट र अन्य सहायताका निम्ति अनुरोध गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए ।

उत्तरतर्फ ९नुवाकोट०तिर जाने सवारी साधनहरु टोखा, झोर हुँदै चलिरहेका छन् । तर त्यो बाटोमा अत्यावश्यक सवारी साधनमात्र चलिरहेको ट्राफिक प्रहरीले सञ्चालन गरेको एफएमले जनाएको छ । तर उत्तरतिर जाने सडक पनि पहिरोले गर्दा ठाउँ–ठाउँमा अवरोध छ ।

सडक विभागका अनुसार त्रिभुवन लोकपथ पनि पूर्ण अवरुद्ध छ । सिर्सिया–पथलैया–हेटौंडा–भैंसे–पालुङ–नौबिसे–काठमाडौं खण्डमा पनि पहिरो गएका कारण सो सडक बन्द भएको हो ।

यस्तै, अरनिको लोकमार्गअन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी लोकमार्ग पनि अवरुद्ध भएको छ । सो लोकमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको छ ।

सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्डारा–मलेखु–गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत नुवाकोटको ३५ किलो र तादी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार सडकखण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा गएको बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ । दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, कीर्तिपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेको छ । गोदावरी नगरपालिका–६ को लेले टीकाभैरव जाने बाटोमा पहिरो खसेको छ ।

कान्ति लोकपथअन्तर्गत हेटौंडा–बाग्मती–टीकाभैरव–भैंसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ । यस लोकमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

+