फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दा समेत दर्ता नगरेको बताए । 

नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउन सकिने उनको भनाइ छ । 

उनले देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए । फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवर्द्धन हुने गरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको उनको भनाइ छ  । सामाजिक सञ्जालहरू नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको बताए ।

उनले भने, ‘हामीले भनेका छौँ सामाजिक सञ्जालको प्रयोग र सञ्चालनको नियमन गर्ने विधेयक ल्याएका छौँ । त्यो विधेयक राष्ट्रिय सभामा मैले प्रस्तुत गरिसकेको छु  तर त्यो बिचमा गएर रोकिराखेको छ । किन रोकिएको छ भन्ने सबैलाई थाहा छ । आज सोसल मिडिया प्लेटफर्म जस्तो चलाइरहेको छ नि जसले सञ्चालन गर्छ । त्यो सञ्चालन गर्नेहरूले यो मुलुकको संविधान मान्नु पर्ने कि नपर्ने रु जस्तो मेटा भनौँ, गुगल, टिकटक ‘। यिनीहरूले नेपालमा काम गर्ने भएपछि नेपालको कानुन मान्ने कि नमान्ने रु नेपालको संविधान मान्नु पर्ने कि नपर्ने रु यहाँ दर्ता हुनुपर्ने कि नपर्ने रु उनीहरूले जे खालको कन्टेन्टहरू पस्कन्छ त्यसबाट हाम्रो नेशनल युनिटी, राष्ट्रिय स्वाधीनताको बारेमा बोलिदियो भने र त्यसले समाजमा ठुलो प्रभाव सिर्जना गर्‍यो भने त्यसलाई हामीले के गर्ने रु  सबैभन्दा ठुलो कुरा देश हो । देशको स्वाधीनता, भौगोलिक अखण्डता र एकता हो । स्वाधीनताको विरुद्ध जे जे सम्प्रेषण हुन्छ सोसल मिडियाबाट, त्यो सञ्चालकलाई नियमन गर्नुपर्छ भनेको हो । त्यो भनेको प्रेस फ्रिडमलाई खोस्ने भनेको होइन । जसले जे लेखे पनि भाछ, फेक आइडी बनाएर मनपरी लेखिरहेको छ । सामाजिक सद्भाव भड्काइरहेको हुन्छ । हाम्रो जातीय सद्भाव भड्काइरहेको हुन्छ । धार्मिक सहिष्णुतालाई भड्काइरहेको छ । पहिला पनि हामीले तीन महिनाको सूचना जारी गरेको दर्ता गर्न आउँ भनेर । अहिले एक महिनाको सूचनाको दुई तीन दिन बाँकी छ कोही आउँदैन । मेटा जसले फेसबुक चलाउँछ मेसेन्जर चलाउँछ, ह्वाट्सएप चलाउँछ, इन्स्टाग्राम चलाउँछ दर्ता गर्न किन आउँदैन रु सरकारलाई नै टेर्दैन उसले नेपाललाई नै टेर्दैन उसले । तेरो टोटल जिडिपी भन्दा त हाम्रो जिडिपी बढी, तेरो वार्षिक बजेट भन्दा हाम्रो धेरै गुणा बढी भन्ने उसको घमण्ड छ, अहंकार छ । त्यो घमण्ड गरेर बस्यो भने प्रतिबन्ध लाग्छ मैले भन्देको छु । होइन हामी चल्छौँ भन्ने हो भने आउनु पर्‍यो ।’

सञ्चारमन्त्री गुरुङले नेपाल धार्मिक सहिष्णुताको अनुपम उदाहरण भएको बताए । उनले विभिन्न जातजाति तथा धर्मका अनुयायी मिलेर बसेको नेपाल विविधतामा एकता भएको बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग गरी विदेशीहरूले नेपालको धार्मिक सहिष्णुतालाई खलबल्याउन नेपालीलाई कमजोर बनाउन खोजेको आरोप लगाए ।

उनले भने, ‘धार्मिक सहिष्णुताको अनुमन उदाहरण कहीँ छ भने नेपालमै छ । यसैमा हमला भएको छ सामाजिक सञ्जालबाट । अनलाइन मिडियाको माध्यमबाट । त्यो कुरा त हामी सबैले स्विकार्छौँ नि । १२४ भन्दा बढी भाषभाषीको मान्छे बस्छन् यहाँ, यति धेरै विविधता छ । डाइभरसिटीभित्र युनिटी खोज्ने कुरा त जसरी हामी मिलेर बसेका छौँ । सांस्कृतिक सदभाव छ, जातीय सद्भाव छ हाम्रो । यही जातीय सद्भावलाई भत्काउन खोज्दै छ । नेपालीलाई कमजोर बनाउन लागेका छन् ।

सञ्चारमन्त्री गुरुङले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पत्रकार महासंघलगायत सबै पत्रकार सङ्घ संगठनसँग छलफल गरेर अगाडि बढाउने बताए ।  

+