महाधिवेशनको मिति नै नतोकिएको अवस्थामा अहिले नै यसो गर्छौँ भन्नु हतार हुन्छ। : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको महाधिवेशन आगामी २०८३ साल दसैँको सेरोफेरोमा हुने बताएका छन्।

आइतबार पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन्। ‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन,’ उनले भने।

नवौँ महाधिवेशनपछि कांग्रेसका सबै महाधिवेशन पाँच वर्षमै भएको भन्दै अब १५ औँ महाधिवेशन पनि पाँच वर्षमै हुने बताए।

‘चार वर्षको कार्यकालमा १ वर्ष म्याद थप्न पाइन्छ। चार वर्ष अबको मङ्सिरमा पूरा हुन्छ।

अहिलेसम्म क्रियाशील सदस्यता टुंगिसकेको छैन त्यसका लागि असोज मसान्त तोकेका छौँ,’ सिटौलाले भने, ‘८३ को मङ्सिरभन्दा उता लैजानुहुँदैन। गर्नुपर्छ।’

उनले आगामी महाधिवेशनमा मिलेर जानुपर्ने कोसिस भइरहेको बताए। त्यसकै लागि चाक्सीबारीमा जुटेर नेताहरूले छलफल गरेको उनले बताए।

‘यस्तो भेटघाट भइरहन्छ। हामी बसिरहन्छौँ। अस्ति पनि चाक्सीबारीमा सातजना बसेका थियौँ’, उनले भने, ‘हिजो महाधिवेशनमा सघाएका साथीहरूलाई सभापति शेरबहादुर देउवाले साथमा लिनु उहाँको कुरा हो।

तर, आजका दिनमा उहाँले सबैलाई मिलाएर लैजान सक्नुपर्छ।’

उनले पन्ध्रौँ महाधिवेशनमा के गर्ने भन्ने अहिले नै छलफलको विषय नभएको बताए। ‘भविष्यमा हामी के गर्छौँ भन्न सकिँदैन’, उनले भने, ‘महाधिवेशनको मिति नै नतोकिएको अवस्थामा अहिले नै यसो गर्छौँ भन्नु हतार हुन्छ।’

+