चार वायुको प्रभाव कायमै : मधेस, बागमती र गण्डकीमा बिहानैदेखि वर्षा

हाल देशभर पश्चिमी वायु, स्थानीय प्रणाली र बंगालको खाडी तथा अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप आज बिहानैदेखि मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भएको हो।

महाशाखाका अनुसार हाल कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको मौसम विभागको भनाइ छ।

दिउँसोतिर मौसममा अझ व्यापक असर देखिने अनुमान गरिएको छ। कोशी, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

आज कोशी प्रदेशका केही भाग, मधेस, बागमती, गण्डकी लगायतका पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसका साथै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत रहेको मौसम विभागले जनाएको छ।

+