मुस्लिम र हिन्दू समुदायबीचको द्वन्द्वपछि वीरगञ्जमा निषेधाज्ञा जारी

मुस्लिम र हिन्दू समुदायबीचको द्वन्द्वका कारण वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ।

वीरगञ्ज महानगरपालिकामा आज दिउँसो १ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पूर्वी क्षेत्रको बसपार्क, पश्चिमी क्षेत्रको सिर्सिया पुल, उत्तरी क्षेत्रको पावर हाउस चौक र दक्षिणी क्षेत्रको शंकराचार्य गेटको आसपास कुनै पनि किसिमका सभा, जुलुस र प्रदर्शनहरूलाई पूर्ण रूपमा प्रतिबन्धित गरेको छ।

निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ।

हिजो आइतबार त्यहाँ ठूलो प्रदर्शन भएको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको हो।

झडपका क्रममा एक जना प्रहरी जवान सामान्य घाइतेसमेत भएका थिए।

धनुषाको धनुकमला नगरपालिका (६ स्थित सखुवा मरानको मुस्लिम बस्तीमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित बनेको हो।

+