बाढीले मेलम्चीमा क्षति, दशैँअघि काठमाण्डू पानी आउने सम्भावना सकियो

निरन्तर परेको अविरल वर्षाले मेलम्ची खानेपानी आयोजनामा पनि क्षति पुगेको छ।

खोलामा आएको बाढीले उक्त आयोजना जाने बाटो बगाएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक निर्देशक रत्न लामिछानेले जानकारी दिए।

उनका अनुसार आयोजनामा भने बाढीबाट आंशिक क्षति पुगेको छ।

आयोजनाको मुहान जाने बाटो नै सबै बाढीले बगाएको छ,आयोजनाको मुहान चाहिँ सुरक्षित छ,तर सुरुङभित्र चाहिँ केही माटो,लेदो छिरेको छ,कति छिर्‍यो भन्ने चाहिँ त्यहाँ गएर मात्रै भन्न सकिन्छ,तर पहिला त्यहाँ जाने बाटो नै छैन,’उनले भने।

उनले अहिले बाढी बढेर आएकाले दशैँअघि मेलम्चीको पानी काठमाडौंमा ल्याउने सम्भावना कम भएको बताए।

अब खोलाको बाढी कम भयो भने चाहिँ पानी पठाउन सकिएला,नभए दशैँअघि सम्भावना छैन,’उनले भने।

बर्खा लागेसँगै धमिलो आउन थालेपछि र बाढीले क्षति गर्ने भएका कारण काठमाडौं उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो।

उक्त पानी सरकारले घटस्थापनाअघि नै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा ल्याउने तयारी गरेको थियो।

तर,दशैँअघि पानी नआउने सम्भावना देखिएको छ।


+