द्वन्द्व पीडितको नाममा विदेश जान कांग्रेसको लेटरहेड व्यापक प्रयोग, निगरानी बढाइयो

 पार्टीको लेटरहेड प्रयोग गरी द्वन्द्व पीडित भएको भन्दै अमेरिका लगायतका देश जाने प्रवृत्ति बढेपछि नेपाली कांग्रेसले निगरानी बढाएको छ ।

नेपाली कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भइ काम गर्दा माओवादीका कारण दुख पाएको भन्दै नक्कली सिफारिस बनाएर विश्वका विभिन्न देशमा पुग्ने गरेको गुनासोपछि कडाइ थालिएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाका सभापति किशोरकुमार आचार्यले विज्ञप्ति नै जारी गरेर त्यसबारेमा ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पा र अन्य तहहरु समेतको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी विभिन्न व्यक्तिहरुले आफू नेपाली कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई नेपाली कांग्रेसको हरेक गतिविधिहरुमा सक्रिय भएको कारण द्वन्द्व प्रभावित भएको, माओवादी पार्टीको कार्यकर्ताले दुःख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकी जीवनरक्षाका लागि विदेश ९अमेरिका लगायत० देशमा आउनुपरेको भनि गलत सिफारिस बनाइ सम्बन्धित देशमा पेस गरेको, गर्ने प्रक्रियामा रहेको बुझिएकाले सो सम्बन्धमा नेपाली कांग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै त्यस्तो गलत कार्य गरेर विदेश जानेहरुलाई सम्बन्धित देशमा रहेका जनसम्पर्क समितिको सहयोगमा कारबाही प्रक्रिया अघि बढाइने समेत चेतावनी दिइएको छ ।

‘यस प्रकारका गलत, भ्रामक र कानुन विपरितका कार्यहरुको बारेमा सम्बन्धित देश ९विदेश० मा रहेका पार्टी जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरी सत्यतथ्य पत्ता लगाइ सो सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावास समेतमा पार्टीको तर्फबाट कुटनीतिक पहल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्तिमार्फत सुचित गराइएको छ,’ सभापति आचार्यले भनेका छन् ।


+