विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
वैकल्पिक नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्यको तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज–भोलिमै औपचारिक सहमतिको घोषणा गर्ने तयारी भइरहेको छ। यसका लागि दुवै पक्षका टिमले तीव्र गृहकार्य थालेका छन्।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने म्याद पुस १३ अगावै सहमतिमा पुग्ने लक्ष्य राखिएको रास्वपा निकट स्रोतले जनाएको छ।
पुस ७ गते सोमबार र पुस १० गते बिहीबार गरी दुई चरणमा भएको छलफलपछि रवि र बालेन सहमतिनजिक पुगेको रास्वपा स्रोतको दाबी छ। ‘आगामी चुनावमा नयाँ वैकल्पिक शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा दुवैको साझा बुझाइ छ। सहकार्यको मोडालिटी कस्तो हुने भन्नेबारे खाका बनाउने काम भइरहेको छ,’ स्रोतले भन्यो।
छलफलमा पावर सेयरिङ र रवि–बालेनको पदीय हैसियतबारे प्रारम्भिक कुराकानी भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको बताइएको छ।
साथै, उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङलाई समेत सहकार्यमा समेट्ने विषयमा छलफल भइरहेको स्रोतहरूले बताएका छन्। यसै सन्दर्भमा कुलमान र बालेनबीच बिहीबार बिहान पनि भेटवार्ता भएको थियो।
शुक्रबार बालेन काठमाडौं महानगरपालिकाको नगरसभामा व्यस्त रहेकाले उहाँको तर्फबाट टिमले मात्र सहकार्यसम्बन्धी गृहकार्य अघि बढाएको जनाइएको छ। आन्दोलनमा सक्रिय केही ‘जेन–जी’ प्रतिनिधिलाई समेत समेटेर नयाँ वैकल्पिक शक्ति घोषणा गर्ने तयारी भइरहेको रवि–बालेनसँग निरन्तर संवादमा रहेका स्रोतले बताएका छन्।
लामो समयको मौनता तोड्दै बालेनले हालैको भेटमा संसदीय राजनीतिमा प्रवेश गर्ने संकेत दिएको बताइएको छ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन शाह राष्ट्रिय रूपमा चर्चित हुनु भएको हो। सोही वर्षको संसदीय निर्वाचनमा पहिलो प्रयासमै चौथो शक्तिका रूपमा उदाएको रास्वपा आगामी निर्वाचनमा वैकल्पिक शक्तिहरूको साझा मोर्चा निर्माण गर्ने कसरतमा जुटेको छ।
रवि र बालेनबीच आजै निर्णायक वार्ता र सहमतिको निष्कर्ष सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.