सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल निष्कर्षविहीन भएको छ ।

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

संघीय संसद् भवन नयाँ वानेश्वर परिसरमा भएको बैठकमा प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा छलफल भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि दलहरूबिच सहमति जुट्न नसक्दा सुरु हुन सकेको छैन । प्रतिनिधिसभाको अवरोध खुलाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच निरन्तर प्रयास भइरहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

+