काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि बन्द, ल्यान्डफिल साइट पुगेका गाडीहरू पनि फिर्ता

नुवाकोटको धुनिबेशी नगरपालिका–१ बन्चरे कुण्डुले ल्यान्डफिल साइटका प्रभावित स्थानीयको आन्दोलनसँगै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि बन्द भएको छ । यसअघि गरिएका सम्झौता पूरा नभएको भन्दै प्रभावित स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।

फोहोर विसर्जनका लागि ल्यान्डफिल साइट पुगेका गाडीहरू पनि उनीहरूले फिर्ता गराइदिएका छन् । 

यद्यपि, कानुनमा भने अत्यावश्यक फोहोर व्यवस्थापन कार्य रोक्न नहुने व्यवस्था छ ।

धुनिबेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार, पटकपटक भएका पुराना सम्झौता कार्यान्वयनमा नआएसम्म फोहोरमैला विसर्जन गर्न नदिने अडानमा स्थानीय छन्   । 

महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले फोहोरका गाडी बाटोमै रोकिएको जानकारी दिइन्  ।‘उहाँहरूले बीच बाटोमै फोहोरका गाडीहरू रोक्नुभएको छ,’ उनले भनिन् । 

काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग स्थानीयले पटकपटक सम्झौता गर्दै आए पनि उनीहरूका माग सम्बोधन हुन सकेका छैनन् । स्थानीयले बन्चरेडाँडाका बस्तीहरूलाई ३–४ हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना सुरुवात गर्नुपर्ने, गुठीको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्नेलगायत माग राख्दै आएका छन् । यी मागहरूमध्ये कुनै पनि माग पूरा नभएको स्थानीयले बताएका छन् ।

+