क्यानडामा एक महिलाले विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु, २५ जना घाइते

 क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरस्थित विद्यालयमा बुधबार बिहानै भएको अन्धाधुन्ध गोली प्रहारमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सो विद्यालयमा कक्षा ७ देखि १२ सम्मका १ सय ७५ विद्यार्थी पढ्छन् ।

खैरो कपाल भएकी एक महिला खैरै पहिरनमा आएकी र उनले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ६ जनाको शव विद्यालयभित्रै भेटिएको थियो भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस्तै, विद्यालय नजिकैको एक भवनमा पनि दुई जना मृत भेटिएको र घरमा मृत भेटिएकाहरू पनि विद्यालयमा भएको गोलीकाण्डको सिकार बनेको त्यहाँको प्रहरीले जनाएको छ ।

गोली चलाउने महिला पनि घटनास्थलमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीले बताएको हुलियाअनुसारकै महिला मृत भेटिएको र उनी नै आक्रमणकारी हुन् भनेर प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले ती महिलाले अन्धाधुन्ध गोली चलाएपछि आफैलाई गोली हानेको भनेर बताएको रोयटर्सले लेखेको छ ।

आक्रमणकारी महिलाको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ । यद्यपि उनको पहिचान खुलाइएको छैन ।

गोलीकाण्डको उद्देश्य पनि खुलिसकेको छैन । 

प्रहरीका अनुसार, गोली प्रहारको जानकारी पाएपछि घटनास्थल प्रवेश गर्दा धेरै मानिस घाइते र मृत अवस्थामा फेला परेका थिए । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मृतकमा कोही विद्यार्थी छन् कि छैनन् भन्ने कुरा थाहा हुन सकेको छैन । घटनापछि विद्यालय बन्द गरिएको छ ।

प्रहरीले स्कुलमा रहेका बाँकी सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ । उक्त क्षेत्रमा सुरक्षा बढाइएको छ ।

घटनापछि ठूलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको थियो । विद्यालयले आफ्ना प्रियजन खोज्न बाहिर निस्केका मानिसहरूलाई घर फर्कन र सुरक्षित रहन अपिल गरेको छ ।

रोयल क्यानेडियन माउन्टेड पुलिस ९आरसीएमपी० को उत्तरी जिल्ला कमान्डर केन फ्लोयडले विद्यालय परिसरको अवस्था गम्भीर रहेको बताए । उनले स्कुल प्रशासन, आपत्कालीन टोली र स्थानीय बासिन्दाले घटना व्यवस्थापनमा प्रहरीलाई सहयोग गरेको जानकारी दिए ।

गोली चलेको विद्यालय रहेको टम्बलर रिज उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका हो । यो रकमी पर्वत शृंखलाको फेदीमा पर्ने भएकाले अहिले हिउँ परिरहेको छ ।

क्यानडामा विगतमा पनि ठूला गोलीकाण्डका घटना भएका छन् । सन् २०२० अप्रिलमा नोभा स्कोटिया प्रान्तमा प्रहरीको पोसाक लगाएका एक ५१ वर्षीय व्यक्तिले १३ घण्टासम्म गोली चलाउँदै २२ जनाको हत्या गरेका थिए ।

त्यस्तै, सन् १९८९ डिसेम्बरमा मोन्ट्रियलस्थित इकोल पोलिटेक्निकमा भएको विद्यालय गोलीकाण्डमा १४ महिला विद्यार्थीको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

+