मानवअधिकार आयोगले भन्यो -“लामिछानेलाई राखिएको कोठाका झ्याल प्लाइउडले बन्द गरिएका रहेछन्”

 भैरहवा कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बस्ने कोठाका झ्याल प्लाउडले बन्द गरिएको निरीक्षणमा गएका मानवअधिकार आयोगको टोलीले बताएको छ।

आयोगको टोलीले लामिछानेको जेल जीवनको निरीक्षणका क्रममा बाहिर आएजस्तो एसी सुविधा नभएको र कोठाका झ्याल प्लाइउडले बन्द गरिएको पाएको छ।

कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी पनि गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले सोमबार कारागारको अनुगमन गरेको हो।

आयोगकी आयुक्त लिली थापासहितको टोलीले कारागारको अवस्थाबारे अनुगमन गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै क्षमताभन्दा बढी कैदी राखेको पाइएको बताइन्।

‘२ सय ५० जना कैदी राख्ने क्षमता भएको यस कारागारमा ७ सय कैदी राखिएको छ, यो न्यूनतम मानव अधिकारको हनन् भएको विषय हो, हामीले त्यो पायौं,’ थापाले भनिन्, ‘७ सय जना कैदीलाई व्यवस्थापन गर्ने कारागार प्रमुखलाई म धन्यवाद दिन्छु।

तर, क्षमताभन्दा बढी कैदी राख्नु र कैदी व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी हो।’ आयुक्त लिली थापाले कारागारभित्रै गएरै लामिछानेलाई भेटेकी थिइन्।

‘उहाँले अहिलेसम्म बाहिर हिँडडुल गर्न पाएको छैन। बाहिर गएर स्वच्छ हावा लिन पाउनुपर्‍यो, पत्रपत्रिका पढ्न पाउनुपर्‍यो, न्यूज सुन्न पाउनुपर्‍यो भन्ने कुरा गर्नुभयो,’ थापाले पत्रकारहरूसँग भनिन्, ‘उहाँले कानूनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानून व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएकोजस्ता कुरा पनि सुनाउनुभयो।’

लामिछानेलाई ४ सय २० स्क्वायर फिटको कोठामा राखिए पनि अट्याच बाथरूम खुलै रहेको उनले बताइन्। एसी वा कुलर नभई कोठामा दुइटा पंखा रहेको उनले बताइन्।

कारागारको अवस्थाबारे आयोगले छिट्टै धारणा सार्वजनिक गर्ने पनि उनले बताइन्।

जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताएकी छन्। आफूहरूले झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको पनि थापाले बताइन्।

+