नेपालले भोगेको जलवायु समस्या निकै हृदयविदारक छ : राष्ट्रपति पौडेल

 राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्न आहृवान गर्नुभएको छ । अजरबैजानको बाकु शहरमा यही सोमबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप(२९० अन्तर्गत नेपालले बुधबार आयोजना गरेको ‘माउण्टेन इन पेरिल, एडेसिङ लस एण्ड ड्यामेज इन द हिमालय’ ९पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन० शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै उहाँले सो आहृवान गर्नुभएको हो । ‘पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्नसक्ने र सामुद्रिक किनारमाथि उठ्नसक्ने भएकाले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्न म हार्दिक आहृवान गर्दछु’, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले मुख्य गरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताउनुभयो । ‘बढीभन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९औँ जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ’, उहाँले भन्नुभयो । जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनुपर्ने भएकाले यस कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो । ‘जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधान गर्न पनि सहज हुने हाम्रो विश्वास हो’ राष्ट्रपति पौडेलले भन्नुभयो ।

सबैलाई आ(आफ्नो समस्या ठूलो लाग्नु स्वाभाविकै हो, तर पछिल्लो दिनमा नेपालले भोगेको जलवायु समस्याको चुनौती निकै हृदयविदारक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । ‘तीन महिना अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो’, उहाँले भन्नुभयो । त्यस्तै, विगत तीन महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र ५०० भन्दा बढी मानिसले ज्यान गुमाउन पुगेको र खर्बभन्दा बढीको हानि नोक्सानी भएको जानकारी उहाँले दिनुभयो ।

यस प्रकारको हानि नोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबान तथा गत जुलाईमा क्यारिवियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुने उहाँको धारणा थियो । ‘भोलिका दिनमा यो मानवीय संकट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो’, राष्ट्रपति पौडेलले भन्नुभयो । साथै, राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकोले हानि नोक्सानीलाई जलवायु वित्त व्यवस्थापनका लागि नयाँ समष्टिगत संख्यात्मक लक्ष्यमा हानि नोक्सानीसमेत समेट्न विशेष आहृवान गर्नुभयो ।

अन्त्यमा उहाँले प्रकृतिको संरक्षणका लागि विश्वलाई अपिल गर्दै भन्नुभयो, ‘ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः। वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रहृम शान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।। ॐ शान्तिः शान्तिः शान्तिः।।’ कोप २९ सम्मेलनमा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन बुधबार राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको हो । सो अवसरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा किर्दीस्तानका राष्ट्रपतिलगायत विभिन्न देशका मन्त्री तथा प्रतिनिधिले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो । अजरबैजानको बाकु शहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप(२९० अन्तर्गत मंगलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुग्नु भएको हो ।


यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल’ ९एनसिक्युजी० रहेको छ । सो भ्रमण दलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ ।

+