समिक बडाल र कुमार बेनको जुहारी, ‘ट्रोल नेपाल’ पेज बन्द

सामाजिक सञ्जालबाट अनेरास्ववियुका अध्यक्ष समिक बडालले बालेनको कडा प्रतिरोध सुरु गरेका हुन् । यसको साइड इफेक्टस्वरुप आज एउटा चर्चित फेसबुक पेज ‘ट्रोल नेपाल’ अचानक डिएक्टिभ गरिएको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडाल र बालेनका सल्लाहकार कुमार बेनको फेसबुक जुहारीपछि ट्रोल नेपाल डिएक्टिभ भएको हो । यो पेज कुमार बेनले सञ्चालन गर्दै आएको बताइन्छ ।

बडालले बेनलाई निशाना बनाएर स्टाटस लेखेका थिए । त्यसमा उनले बालेनको नाममा बेनले विभिन्न अनियमितता गरेको आरोप लगाएका छन् । महानगरपालिकाको ढुकुटीबाट लाखौं रुपैयाँ लिएर बेनले विभिन्न फेसबुक पेज चलाइरहेको र ती पेजमा ओलीका विरुद्ध जेहाद छेडिएको बडालको आरोप छ ।

ट्रोल नेपाल,थग्स अफ नेपाल,मिम नेपालजस्ता पेजहरुबाट कुमार बेनले अरु नेता तथा कलाकारहरुविरुद्ध अश्लील तथा आपत्तिजनक कमेन्ट गरेको भनेर उनीहरुले लगातार कमेन्ट गरेपछि ६ लाख ७० हजार फलोअर्स भएको ट्रोल नेपाल डिएक्टिभ भएको देखिन्छ ।

अखिल प्रवक्ता प्रकाश पौडेलले लेखेका छन्, ‘बालेनका स्वकीय सचिव कुमार बेनले सञ्चालन गर्ने TROLL NEPAL नामको पेज अहिले हटाइएको छ । हामीले प्रश्न सोधेका थियौं, के ट्रोल नेपाल र काठमाडौं महानगरको विचार एउटै हो ।


+