नागढुङ्गा-नौबिसे सडकखण्ड साढे ४ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि साढे ४ घण्टा बन्द गरिने भएको छ । यही जेठ १० गतेदेखि २५ गतेसम्म प्रत्येक दिन बिहान १०स्३० बजेदेखि दिउँसो ३स्०० बजेसम्म सडक पूर्णरूपमा बन्द गरिने भएको हो ।

धादिङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर उक्त निर्णय गरिएको हो ।

यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र सडक बन्द गरी निर्माण कार्य भइरहेको थियो । अब भने प्रविधिक कारणले आवश्यक काम दिनको समयमा गर्नुपर्ने भएकाले दिउँसो नै सडक बन्द गर्न लागिएको हो ।

हाल नागढुङ्गादेखि नौबिसेसम्मको सडकको मोड सुधार, चौडाइ विस्तार तथा पिचको काम भइरहेको छ । रातिको समयमा भत्काउने काम सम्पन्न भइसकेकाले अब दिनको समयमा बाँकी निर्माण कार्यलाई अघि बढाउन लागिएको हो ।

सडक बन्द हुने अवधिमा स्थानीय प्रशासनले धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न यात्रु र सवारीसाधनलाई अनुरोध गरेको छ।

यस क्रममा काठमाडौंबाट बाहिरिने सवारी नागढुङ्गामा रोकिनेछ भने बाहिरबाट काठमाडौं प्रवेश गर्ने सवारी खानीखोलामा थुनिनेछ। यात्रुहरूलाई असहज नहोस् भनेर वैकल्पिक मार्गको प्रयोगमा जोड दिइएको छ।


+