अनेरास्ववियुको निर्वाचन आज, अध्यक्षमा पौडेल र कडरिया भिड्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)  को २४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

पहिलोपटक विद्युतीय प्रणालीमार्फत हुने यो मतदान बिहान ८ बजे सुरु भई अपरान्ह ४ बजेसम्म चल्नेछ ।

महाधिवेशन अध्यक्ष मण्डल सदस्य माधव ढुङ्गेलका अनुसार उम्मेदवारहरूको नामावली विद्युतीय मेसिनमा समावेश भइसकेको छ ।

अध्यक्ष पदमा प्रकाश पौडेल र डा। सुजन कडरिया मुख्य प्रतिस्पर्धी छन् । खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाही प्रतिस्पर्धामा छन् ।

महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईं र आरती भट्टराई छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेल उम्मेदवार छन् ।

निर्वाचनमा ४३ वटा विद्युतीय मेसिन प्रयोग हुनेछ भने १ हजार ५४३ प्रतिनिधिले मतदान गर्नेछन् । ५१९ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । एक प्रतिनिधिले सम्पूर्ण पदमा मतदान गर्न १५–२० मिनेट लाग्ने अनुमान छ ।

निवर्तमान अध्यक्ष समिक बडालका अनुसार विद्युतीय प्रणालीले प्रक्रिया छरितो बनाउनेछ भने कागजी मतपत्रको झन्झट हट्नेछ । मतदानका लागि प्रयोग हुने मेसिन राम९लक्ष्मण इनोभेसनले तयार पारेको हो ।

यसपटक महाधिवेशनमा पहिलोपटक ३२ वर्ष उमेर सीमा तोकिएको छ, जसले नेतृत्वमा नयाँ पुस्तालाई प्राथमिकता दिएको संकेत गर्छ । महाधिवेशन २५ जेठदेखि सुरु भएको हो ।


+