विश्वविद्यालय र विद्यालयबाट २ महिनाभित्र दलीय विद्यार्थी संगठन हटाउने सरकारको निर्णय
आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काएर पठनपाठन गराउने वातावरण बनाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
सर्वोच्चले बिहीबार तीन दिनभित्र शिक्षकको जायज माग पूरा गर्न तथा शिक्षकहरुलाई पनि विद्यालय फर्किएर पठनपाठन सुचारु गराउन आदेश दिएको हो ।
न्यायाधीश नहकुल सुवेदीको इजलासले सरकार र शिक्षक दुवै पक्षलाई समस्या समाधान गर्न आदेश दिएको हो ।
साथै विद्यार्थीको पढ्न पाउने हकको सुनिश्चित गर्न सर्वोच्चले सरकार र शिक्षक दुवैलाई बाध्यकारी आदेश दिएको छ ।
‘शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू’ –आदेशमा भनिएको छ ।
तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण एसईई बोर्डको परीक्षाफल समयमा प्रकाशन हुन नसक्ने अवस्थाको सिर्जना हुन नदिन पनि सर्वोच्चले भनेको छ ।
कक्षा १२ को परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको भन्दै आदेशमा उक्त परीक्षा समयमै गर्न र नसार्न पनि भनिएको छ ।
आदेश प्राप्त भएको मितिले चौथो दिन आदेश कार्यान्वयनको प्रगति सम्बन्धमा प्रतिवेदन पेस गर्न पनि सर्वोच्च अदालतले शिक्षा मन्त्रालयलाई आदेश दिएको छ ।
अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय संसद् सचिवालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
शिक्षकहरू गत चैत २० गतेबाट काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले प्रदर्शन जारी राख्दै आएका हुन् । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सारेर २१ वैशाखमा पु¥याइएको छ ।
अझै पनि परीक्षा हुने नहुने अन्योल रहेकोमा सर्वोच्चको आदेशसँगै अब भने परीक्षा नसर्ने निश्चित भएको छ ।
शिक्षक र सरकारी पक्षबीच पटकपटक वार्ता भइरहेको भएपनि सफल हुन सकेको थिएन ।
यस्तो छ दुवै पक्षलाई सर्वोच्चको बाध्यकारी आदेश
–शिक्षकका जायज माग तत्काल सम्बोधन गर
–शिक्षकहरु ३ दिनभित्र फर्किएर पठनपाठन शुरु गर
–विद्यार्थीलाई पठनपाठन गर्नबाट वञ्चित नगर
–एसर्ईईको परीक्षाफल सययमा नै प्रकाशन गर्ने वातावरण बनाऊ
–कक्षा १२ को परीक्षा तोकिएको सयमा गर, सो परीक्षा सार्न नलगाऊ
हाम्रो बारे
हाम्रो टिम
© 2024, Newsdhar. All rights reserved.