चितवनमा पनि रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दायर, बिगो रकम ५६ करोडभन्दा बढी

 पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज मंगलबार चितवन जिल्ला अदालतमा सहकारी ठगी अभियोगमा मुद्दा दर्ता भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । यस्तै, ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता भएको छ ।

रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।

सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध ७ मंसिरमा चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदा उनी सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा थिए । कास्कीबाटै बयानका लागि उनलाई चितवन लगिएको थियो । त्यहाँ उनीसँग मंसिर १८ र १९ गते दुई दिन गरी २३ घन्टा वयान लिइएको थियो ।

यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ लाअ र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन् ।

+