जाँचबुझ आयोगले रविसँग सोधपुछ गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछका लागि आज बुधबार बोलाएको छ ।

गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बुझ्न उनलाई दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागारमा रहेका बेला लामिछाने २४ भदौमा अन्य कैदी बन्दीसँगै ‘असुरक्षाको कारण’ भन्दै कारागारबाट बाहिरिएका थिए । त्यस बेला कारागार प्रशासनले दिएको भनिएको पत्रको वैधतामाथि समेत शंका उठेको थियो ।

घटनापछि लामिछाने पुनः कारागार फर्किएका थिए । सो घटनाको अध्ययनका लागि आयोगको टोली सोमबार नख्खु कारागार पुगेको थियो । त्यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग बयान लिएको थियो ।

+