डीआईजी बढुवा नै नगरी निर्वाचनमा होमियो सशस्त्र प्रहरी, दुई वटा बाहिनी कार्यालय निमित्तको भरमा

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै गइरहेको बेला सशस्त्र प्रहरी बल, नेपालले भने आफ्नो दुई वटा बाहिनी कार्यालय निमित्तको भरमा चलाइरहेको छ । 

लामो समयदेखि साधारण समूह साधारण उपसमूहतर्फ ९कानुन निर्देशनालयबाहेक० नायव महानिरीक्षक ९डीआईजी० को ६ वटा पद रिक्त भएपनि सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया नथालेर नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत र नम्बर ७ वैद्यनाथ बाहिनी कैलाली निमित्त बाहिनीपतिको भरमा चलाइरहेको छ । 

निर्वाचन आचारसंहिता सुरु भएपछि बढुवाका लागि निर्वाचन आयोगको सहमति लिनुपर्ने बाध्यकारी व्यवस्था भएको थाहा हुँदाहुँदै त्यसबेला रिक्त ५ वटा दरबन्दीमा किन बढुवा प्रक्रिया नै थालिएन रु गम्भीर प्रश्न उब्जेको छ ।  

यति मात्र नभई सशस्त्र प्रहरी नेतृत्वले गत मंसिरमा डीआईजीमा बढुवा भएका कृष्णराज पाठकलाई बाहिनीको जिम्मेवारी नदिई दुईरदुई वटा बाहिनी किन निमित्तको भरमा चलाइरहेको छ भन्ने प्रश्न पनि उब्जेको छ ।  

हाल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० विनोदराज श्रेष्ठ र नम्बर ७ वैद्यनाथ बाहिनी धनगढी ९कैलाली० मा एसएसपी दिगविजय सुवेदी निमित्त प्रमुख छन् । श्रेष्ठलाई केही महिनाअघि नै निमित्त बाहिनीपतिको रूपमा सरुवा गरिएको भएपनि सुवेदीलाई निर्वाचन आचारसंहिता सुरु हुनु एक दिनअघिको मितिमा सरुवा गरिएको हो । 

नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतका निमित्त बाहिनीपति श्रेष्ठ सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् भने सुवेदी सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठले डीआईजी बढुवाका लागि अनिवार्य मानिएको स्टाफ कलेज गरेका छैनन् । बढुवा गर्दा उनीभन्दा जुनियर एसएसपी डीआईजी हुने र उनी निमित्त बाहिनीपतिको ‘रेस’ बाट टाढा हुने हुनाले अहिले नै उनलाई बाहिनीको कमान्ड सुम्पिएको सहजै बुझ्न सकिन्छ । 

तर, डीआईजीहरु हुँदाहुँदै र रिक्त पदमा पनि बढुवा नगरी नम्बर ७ बाहिनीमा निर्वाचनको बेलासमेत किन एसएसपीलाई निमित्त बाहिनीपतिको जिम्मेवारीमा खटाइयो भन्ने पनि प्रश्न उठेको छ । सुवेदीलाई निमित्त बाहिनीपतिको जिम्मेवारीमा दिइएकोमा उनकै ब्याचका एसएसपीहरु भने असन्तुष्ट छन् ।

सशस्त्र प्रहरीमा अहिले मंसिर पहिलो साता थप गरिएको दुई डीआईजी, गत पुस २४ गतेदेखि रिक्त भएको थप तीन गरी पाँच र फागुन १ गतेदेखि रिक्त थप एक गरी ६ डीआईजीको दरबन्दी रिक्त छ । 

निर्वाचन मुखैमा आइसकेकाले अब निर्वाचनअघि डीआईजीको बढुवा प्रक्रिया थालिने सम्भावना न्यून छ । किनभने निर्वाचन मुखैमा आइसकेकाले निर्वाचन आयोगले सहमति दिने सम्भावना अत्यन्तै न्यून छ । अर्कोतर्फ बढुवा सिफारिस गरेपछि पनि ७ दिनको समय दिनुपर्छ । सिफारिसप्रति उजुरी परे प्रक्रिया थप लम्बिइन्छ । २०८२ मंसिर ४ गते भएको चौथो संशोधनपछि बढुवा प्रयोजनका लागि सूचना भने निकाल्नु पर्दैन । 

सशस्त्रको डीआईजी बढुवामा ढिलाइ गर्नुको मुख्य कारण भनेको दाबेदारहरू बढी हुनु हो । जति दिन लम्बाइयो, त्यति नै डीआईजीको पद खाली हुँदै जाने भएकाले पनि जानाजान लम्ब्याइएको बुझ्न कठिन छैन । किनभने सशस्त्र प्रहरीको साधारण समूह साधारण उपसमूहका दुई र प्राविधिक समूहका दुई जना गरी चार जना नायव महानिरीक्षक ९डीआईजी०को चार बर्से पदावधि यही चैत ५ गते सकिँदै छ । साधारण समूह साधारण उपसमूहका दुई डीआईजी लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल तथा प्राविधिक समूह स्वास्थ्यतर्फका डीआईजी डा। रूपक महर्जन र प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका डीआईजी ई। सन्दीप थापाको चार बर्से पदावधि त्यस दिने सकिन्छ । एक वर्ष थप नभएको अवस्थामा उनीहरू सोही मितिमा अवकाशमा जानेछन् । 

उनीहरू चारै जना २०७८ साल चैत ६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डीआईजीमा बढुवा भएका थिए । बढुवा सिफारिस समितिको २०७८ साल फागुन २७ गतेको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । 

यो स्थितिमा साधारण समूह साधारण उपसमूहतर्फ थप दुई गरी डीआईजीको आठ वटा पद रिक्त हुनेछन् भने सिसं २ सशस्त्र प्रहरी निरीक्षकका एसएसपीहरू डीआईजी बन्नेछन् । जसमा सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दिगविजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, किरण बस्नेत, सुधिरजंग थापा, नेत्रबहादुर कार्की, राजेन्द्र खड्का, किरण ढुंगाना, माधव पौडेललगायतको सम्भावना बढी देखिन्छ । 

नेत्रबहादुर कार्की र सुधिरजंग थापाको विषयमा भने प्रधानमन्त्री सुशीला कार्कीले पनि बढी चासो राखे गरेको स्रोतको दाबी छ ।

+