सिमलताल बस दुर्घटनाबारे कार्यदलले आज सरकारलाई प्रतिवेदन बुझाउँदै

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल बस दुर्घटनाबारे कार्यदलले आज प्रतिवेदन सरकारलाई बुझाउँदैछ ।

गृहमन्त्रालयमा आज दिउँसो साढे १ बजे कार्यदलले गृहमन्त्री रमेश लेखक समक्ष प्रतिवेदन बुझाउन लागेको हो ।

गत असार २८ गते सिमलतालमा २ वटा बस बेपत्ता भएको थियो । हालसम्म बसमा सवारमध्ये २५ जनाको मात्रै शव फेला परेको छ । ६५ जना यात्रु रहेकोमा ३ जना पौडिएर बाच्न सफल भएका थिए । बाँकीको खोजीकार्य भइरहे पनि अझैसम्म शव फेला पर्न सकेको छैन ।

गत असार ३१ गते गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै लेखकले उक्त घटनाको अध्ययन गर्न कार्यदल गठन गरेका थिए ।

गृहमन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गर्दै पहिलो निर्णय गरेका थिए ।कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् ।कार्यदललाई १० दिन समय दिइएको थियो ।

+