अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा स्थिर नीति आवश्यक : नाइमा अध्यक्ष वैद्य

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन ९नाइमा० की अध्यक्ष ऋतुसिंह वैद्यले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको बताउँदै यसलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’को उद्घाटन सत्रमा बोल्दै उनले सेवा क्षेत्रमा मात्र करिब ४ दशमलव ७ प्रतिशत रोजगारी सिर्जना गर्ने यो क्षेत्र स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्तै हजारौँ नेपालीलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारमा जोडेको बताइन् ।

उनका अनुसार हरित प्रविधिमा आधारित सवारी साधनको आगमनसँगै चार्जिङ पूर्वाधार, प्रविधिक तालिम तथा नवप्रवर्तनमा आधारित नयाँ अवसरहरू खुलेका छन् । ‘विद्युतीय सवारी साधनसँगै देखिएका अवसरलाई उपयोग गर्दै सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्यमा सीप विकासमा लगानी बढाइरहेका छौँ,‘ वैद्यले भनिन्, ‘युवालाई रोजगारयोग्य बनाउन श्रम शक्ति विकास अभियानमा सक्रिय छौँ तर दीर्घकालीन सफलता सुनिश्चित गर्न स्थिर र स्पष्ट नीति अपरिहार्य छ ।’

नाइमाले अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा गुणस्तरीय सेवा, जनशक्ति विकास र शहर–गाउँसम्म सवारीसाधनको पहुँच विस्तारमा काम गर्दै आएको अध्यक्ष वैद्यले बताइन् ।

२५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५० वटा स्टिलहरु रहेका छन् । जसमा ४७ भन्दा भन्दा बढी ब्रान्डको सहभागिता छ । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन् । प्रदर्शनीमा १५ दुईपाङ्ग्रे, १५ चारपाङ्ग्रे र ५ व्यावसायिक नयाँ सवारी साधन सार्वजनिक गरिनेछ । एक्स्पोस्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास, सुरक्षा र आपतकालीन सेवाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

+