एसीसी यू–१९ एसिया कपको पहिलो खेलमै नेपाल श्रीलंकासँग आठ विकेटले पराजित

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसियाली क्रिकेट काउन्सिल ९एसीसी० पुरुष यू–१९ एसिया कपमा नेपाली टोलीले निराशाजनक सुरुआत गरेको छ । दुबईस्थित द सेभेन्स स्टेडियममा शनिबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग आठ विकेटले पराजित भएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभर खेल्न नसक्दै २८।५ ओभरमा अलआउट हुँदै जम्मा ८२ रन मात्र जोड्न सक्यो । नेपाली ब्याटिङ लाइन अप श्रीलंकाली बलरको धारिलो आक्रमणसामु कमजोर सावित भयो ।

जवाफी ब्याटिङमा श्रीलंकाले लक्ष्य सहजै पूरा गर्‍यो । श्रीलंकाली टोलीले १४।५ ओभरमै दुई विकेटको क्षतिमा ८४ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो । ओपनर दिमान्था महाभिथानाले अविजित ३९ रनको योगदान गरे भने कविजा गामागेले अविजित २४ रन बनाए । नेपालका लागि दयानन्द मण्डलले एक विकेट लिन सके ।

यसअघि नेपाली इनिङ्समा कुनै पनि ब्याट्सम्यानले लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर साहिल पटेल १२ रनमा आउट हुँदा अर्का ओपनर निरज कुमार यादव १० रनमै पेभेलियन फर्किए । ५० रन नपुग्दै नेपालले चार महत्वपूर्ण विकेट गुमाएको थियो ।

तेस्रो नम्बरमा आएका वंश क्षेत्री खाता नखोली आउट भए । सिबरिन श्रेष्ठले ४३ बल खेल्दै एक चौकाको मद्दतमा १८ रन जोडे । दिलसाद अली शून्य रनमा आउट भए भने कप्तान अशोक धामी नौ रनमै सीमित रहे । अभिषेक तिवारीले अविजित सात रन जोडे । रोशन विश्वकर्मा एक, युवराज खत्री पाँच र विपिन शर्मा एक रनमै आउट भए । नेपालले अतिरिक्त रूपमा १९ रन पायो । श्रीलंकाका सेथमिका सेनेविरत्नेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए ।

यू–१९ एसिया कपको यो १२ औं संस्करण हो, जुन डिसेम्बर २१ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल डिसेम्बर १५ मा बंगलादेशसँग तथा तेस्रो खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्नेछ । समूह चरणपछि प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेल डिसेम्बर १९ र फाइनल खेल डिसेम्बर २१ मा आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ ।

बंगलादेश प्रतियोगिताको साविक विजेता हो । भारतले हालसम्म आठपटक, बंगलादेशले दुईपटक तथा पाकिस्तान र अफगानिस्तानले एक–एक पटक उपाधि जितेका छन् । नेपालले यसअघि नौपटक यू–१९ एसिया कप खेलिसकेको छ र सन् २०१७ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

+